किरात मुन्धुममा पूर्खाहरुले बखान गरेअनुसार खम्बुहाें वंशका सन्तानहरु भुसुरी,मेहाें र मेत्नाले वर्षपिच्छेको तराईको उत्पात गर्मीको कारण पहाडको शितल हावापानी भएको स्थलतर्फ जाने मनसाय राखे । गर्मी लाग्नुृ अगावै मैदानबाट सप्तकोशीको किनार पच्छाउंदै उत्तर पहाडतर्फ अघि बढे । मैदान छोडेर नदीको किनारैकिनार उत्तरतर्फ अघि बढेपछि ठूलो ढुङ्गाको ढोका लागेर बाटो बन्द भयो । तीनै जनाले सबै जुक्ति,बल ,बुद्धि लगाउंदा ढोका नखोलिएकोले यसो सोचे मुढेबल र जुक्तिबुद्धिले हुने कुरा हैन रहेछ । दैवी शक्तिले यस्तो भयो भन्ने निष्कर्षमा उनीहरु पुगे । त्यसपछि जंगलमा पाईने कन्दमुलहरुको सेवा पूजा सामाग्रीहरु जुटाई नुहाईधुवाइर्, सफासुग्घर भई सेवा र आराधना गर्न थाले । सेवा गरेपछि उक्त ढुंगे ढोका खोलियो । उनीहरु दङ्ग पर्दै अगाडि बढे । उक्त दिन माघे संक्रान्तिको दिन थियो ।
ढोकाबाट अघि उनीहरुले सप्तकोशीको तीनवटा सहायक नदीहरु आएको थाहा पाए । ती नदीहरुको संगम त्रिवेणी क्षेत्रमा समथर भूमि पाएपछि केही समय त्यही बसे । केही समयपछि त्यस ठाउँबाट अगाडि बढ्ने निश्चय गरे । त्यसपछि जेठो भुसुरीले दुधकोशी,माईला मेहाेंले अरुण र कान्छा मेत्नाले तमोर नदीलाई रोजे । आ–आफ्नो बाटो लाग्नुपर्ने भएपछि छुट्टिनुभन्दा पहिला हरेक मकर संक्रान्तिको दिनमा त्यहाँको ढुंगाको ढोका भएको ठाँउमा सबै दाजुभाईहरु भेला भएर सफासुग्घर गरी पूजा गर्ने भनेर सहमति गरेर छुट्टिए । त्यही समयदेखि मकर संक्रान्तिमा कोशीमा गई नुहाईधुवाइर्, सेवा पूजा गरी कन्दमुलहरु माङलाई चढाई आफूले खाने प्रचलन रहिआएको हो ।
खम्बुहोंका तीनभाइ छोराहरु आ–आफ्ना परिवारहरुसहित तीन नदीहरु पच्छ्याउँदै अघि वढे । एकैचोटि उनीहरु टाढा माथि लेकमा पुगेनन् । उनीहरु सर्दै फैलिदै गए । अघि बढ्दै जाँदा उनीहरु वर्षको एकपटक त्रिवेणीमा ठूलो दैवीय शक्तिवाला ढुंगाको पूजा गर्न र मकर नुहाउन आउने,आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरुसँग भेटघाट गर्ने प्रचलन बस्यो । वर्षपिच्छे ठूलो ढुंगा भएको ठाउँमा गइरहनुपर्ने भएकोले ‘ख्वा’,‘खुवा’ अथवा खेवा बन्न गयो । अन्तत ः दैवीय शक्तिवाला ठूलो ढुंगा भएको ठाउँलाई ‘खुवालुङ’ भन्न थालियो । त्यसकारण किरातीहरुमाझ खुवालुङको ऐतिहासिक,धार्मिक र दैविक महत्व अतुल्नीय छ । किराती बिजुवा,फेदाङ वा,नक्सोहरुले मुन्धुम गाँउदा खुवालुङको पुकार अनिवार्य रुपमा गर्ने गर्दछन् । हिजो आज कोही धामी, बिजुवाहरु ख्ुवालुङ जाने गरेका पाइँदैन । त्यसैले ती धामी, फेदाङवाहरुको शक्ति पनि कम हुंदै गएको हराउंदै गइरहेको अनुभूति हुन थालेको छ । जुन घटनाले किराती सभ्यताको अस्तित्व नै धरापमा परेको छर्लङ्ग हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय