जुनदेखि सेप्टेम्बर पूरा नहुँदै मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । उत्तरी भू-भागमा अझै बढी मात्रामा वर्षात भएको मौसम विज्ञान विभागले जनाएको छ ।  मुलुकका विभिन्न वर्षा मापन केन्द्रलाई आधार मानेर निकालिएको औसत मौसमी विवरणअनुसार उक्त चार महिनामा मुलुकमा सरदर एक हजार ४०३ मिलीमिटर पानी पर्ने गर्थ्‍यो तर अहिले १८ दिनअघि नै एक हजार ५२७ मिलीमिटर पानी परिसकेको छ ।

जलवायु विश्लेषण शाखा मौसम विज्ञान विभागको प्रमुख, वरिष्ठ मौसमविद् डा.इन्दिरा कँडेलका अनुसार सेप्टेम्बर १२ अर्थात् आजसम्मको विश्लेषण गर्दा सरदर एक हजार २६८ मिलीमिटर वर्षा हुनुपर्ने थियो तर औसत विवरणअनुसार २६९ मिलीमिटर बढी पानी परिसकेको छ । यो सरदर वर्षाको अनुपातमा आजसम्मको वर्षा विश्लेषण गर्दा १२० दशमलव ४ प्रतिशत हो । उनका अनुसार सरदर वर्षाको अनुपात भने ९० देखि ११० प्रतिशतलाई मानिन्छ ।

यो वर्ष काठमाडौंमा पनि अत्‍याधिक मात्रामा वर्षा भइसकेको छ । विभागका अनुसार काठमाडौंमा आजसम्म सरदर एक हजार ७२ दशमलव ५ मिलीमिटर वर्षा हुनुपर्नेमा आजसम्म एक हजार ३५१ दशमलव २ मिलीमिटर पानी परिसकेको छ । मनसुनको अवधि (सेप्टेम्बर अन्तिम) सम्म एक हजार १७६ मिलीमिटर पर्नुलाई सरदर वर्षा मानिन्छ । अहिले नै वर्षा नाघिसकेको छ । काठमाडौँमा आजसम्मको तुलना गर्दा १२६ प्रतिशत पानी परिसकेको छ । चार महिनाको मनसुन अवधिको औसत निकाल्दा भने यो ११५ प्रतिशत हुन आउँछ ।  अन्‍य वर्षमा हुने वर्षातको तुलनामा यो वर्ष अत्‍यधिक मात्रामा वर्षात हुने मौसम विभागले पुष्‍टि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर