
शेखर राई/ काठमाडौ
परिवर्तनका हरेक आन्दोलनमा युवा संघ नेपालको प्रभावकारी र नेतृत्वदायी भूमिका खेल्दै आएको प्रगतीशील संगठनले “ महिनामा २ दिन– २ घण्टा मेरो, राष्ट्रका लागि ” अभियान संचालन गर्ने निर्णय गरेको छ । गत साउन २१ गते नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालको उपस्थितिमा बसेको संघको केन्द्रिय पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिइएको हो । समाजमा विद्यमान रहेका विकृति,विसंगति,अन्याय र विभेद अन्त्य गर्न तथा युवाहरुलाई समाजप्रतिको दायित्व र कर्तव्य बोध गराउने तथा सकारात्मक सन्देश प्रवाह गर्ने उदेश्यले अभियान देशव्यापी अघि बढाइएको कुरा युवा संघका केन्द्रिय अध्यक्ष नरेश कुमार शाहीले जानकारी दिनुभयो ।
देशमा व्याप्त ढिलासुस्ती ,भ्रष्टाचार,नातावाद,कृपावाद संस्कृतिको विरोध गर्दै शिक्षा, स्वास्थ्य,सुशासन, वातावरण संरक्षण,उद्धार तथा राहत कार्यमा युवा संघ नेपाल पिपुल्स भोलेन्टियरको रुपमा परिचालन गर्ने निर्णय गरिएको कुरा संघका उपमहासचिव तथा पिपुल्स भोलेन्टियरका इन्चार्ज संजिव राईले बताउनुभयो । यसैगरी वैदेशिक रोजगारीमा जान लागेका युवाहरुको सहजीकरण गरि छिटो र प्रभावकारी रुपमा कोरोना विरुद्धको खोपको व्यावस्था र खोप कार्ड प्रमाणीकरणको सहज व्यावस्था गर्न नेपाल सरकार तथा सम्बन्धीत निकायसमक्ष जोडदार माग गरेको कुरा युवा संघका केन्द्रिय सदस्य तथा युवा संघ नेपाल सोलुखुम्बुका सह– इन्चार्ज देव राईले हिमालयन टाइकुनलाई जानकारी दिनुभयो । यसैबिच आगामी अगष्ट १२ तारिखका दिन पर्ने अन्तराष्ट्रिय युवा दिवसलाई संघका तर्फबाट भव्य र प्रभावकारी ढङ्गले देशैभरी मनाउने निर्णय गरिएको छ ।


