
नेपाल एकीकरणको ईतिहासँग सम्बन्ध राख्ने सिन्धुलीगढी पर्यटकीय आर्कषणको केन्द्र बनेको छ । बाग्मती प्रदेशको सिन्धुली जिल्लामा अवस्थित गढी राजधानी शहर काठमाडौंदेखि करिब २०० किलोमिटर टाढा रहेको छ । आजकल दिनहुँजसो नागबेली वि.पि. राजमार्गबाट घुम्न जाने संख्या बढिरहेको छ । देशको तराई क्षेत्र लगायत गर्मी ठाउँबाट यस गढीमा स्वच्छ चिसो हावाको आनन्द लिन आउने संख्या धेरै बढिरहेको छ । बर्दिबासबाट करिब ५० किलोमिटरको दूरीमा अवस्थित गढीमा सडक यातायातको सुविधासँगै काठमाडौं, बनेपा छिमेकी जिल्लाहरु र विदेशी पर्यटकहरुसमेत पुग्न थालेका छन् ।
समुन्द्री सतहबाट १४५० मिटरको उचाईमा रहेको गढीबाट आकाश खुलेको बेलामा उत्तरतिर मनमोहक हिमाली श्रृङ्खलाहरु देखिन्छ भने दक्षिणतिर तराईका मैदानी फाँटहरु देखिन्छ । प्रायजसो हुस्सु लागिरहने यस क्षेत्रमा लेकाली हिमाली वातावरणको अनुभव गर्न सकिन्छ । ठूलो गढी,सानो गढी, पैवा गढी, आडा, अदालत र जेलघरजस्ता युद्धकालिन समयका संरचजनाहरुको संरक्षण संम्र्वद्धन गरिएको छ । यी सबै संरचनाहरुको आ–आफ्नै महन्व छन् भन्दा अत्युक्ति नहोला । पहाडको टाकुरामा गढी रहेको तथा वरिपरि नजिकै अरु टाकुराहरु नभएकोले गढीको विशेषता सहजै बुझन सकिन्छ । ठूलो गढी र सानो गढीको बिचमा अहिले सिन्धुलीगढी संग्रहालय निर्माणाधिन अवस्थमा रहेको छ । सम्पूर्ण गढी इलाकाको संरक्षण नेपाली सेनाले गरिरहेको छ ।



ऐतिहासिक तथ्य र प्रमाणका आधारमा गोर्खाली फौज र अंग्रेज फौजबीच घमासान युद्ध भएको ठाउँको रुपमा यस गढीलाई लिईन्छ । जुन यद्धमा गोर्खाली फौजको नेतृत्व खजान्ची वीरभद्र उपाध्याय र सरदार वंशु गुरुङले गरेका थिए । अंग्रेज फौजको नेतृत्व क्यापटेन किन्लकले गरेका थिए । वि.स.ं १८२४ कार्तिक २४ गते गोर्खालीले अंग्रेजमाथि विजय प्राप्त गरेका थिए । गोर्खाली फौजतर्फ ६०० को मृन्यु भएको थियो भने अंग्रेजतर्फ १६०० को मृत्यु र ८०० जना घाईते भएका थिए । गोर्खाली सेनापट्टि केहि संख्यामा मात्र घाईते भएका थिए । तत्कालिन कान्तिपु्रका राजा जयप्रकाश मल्लको आग्रहमा सहयोगको लागी करिब २४०० फौज ईष्ट इण्डिया कम्पनीले भारतको पटनाबाट नेपालमा पठाएको थियो । जुन समयमा काठमाडौं उपत्याकामा पृथ्वीनारायण शाहले नाकाबन्दी गरि हाहाकार मच्चाएर सम्पूर्ण क्षेत्र आफ्नो अधिनमा लिने प्रयास गरिरहेका थिए । नाकाबन्दीले ब्रिटिश इण्डियादेखि तिब्बतबिचको मुख्य व्यापार नाका ठप्प थियो । त्यसकारण सिन्धुलीगढी लडाईको वातावरण बनेको थियो ।