काठमाडौँ / प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले आफू सञ्चालक रहेको विनायक कलेज अफ हेल्थ साइन्सले विद्यार्थी भर्ना लिन नपाउने भएपछि पीसीएल नर्सिङको भर्ना नै रोकेका छन् । सामान्य चिकित्सा (एचए), फार्मेसी, ल्याबतर्फ विद्यार्थी भर्ना सकिए पनि नर्सिङमा प्रवेश परीक्षाका लागि आवेदन नै खुला गरिएको छैन । अधिकारी आफैंले सीटीईभीटीबाट सम्बन्धन प्राप्त संस्था (निजी कलेज) को सञ्चालक उपाध्यक्ष बन्न नपाउने नियमविपरीत नियुक्ति पाएका हुन् ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले सीटीईभीटीलाई नर्सिङतर्फ मापदण्ड पुगेका शिक्षण संस्थामा भर्ना खुलाउन गत कात्तिक १७ मा निर्देशन दिएका थिए । त्यही दिन सीटीईभीटीको बैठकले भर्ना खुलाउने निर्णयसमेत गरेको थियो । तर उपाध्यक्ष अधिकारीले भर्ना आह्वानमा अवरोध गर्दै आएको स्रोतले जनाएको छ । ‘नर्सिङमा भर्ना खोल्ने निर्णयमा उपाध्यक्षले हस्ताक्षर पनि गर्नुभएको छैन,’ स्रोतले भन्यो, ‘उहाँ (उपाध्यक्ष) भर्ना खोल्ने भए एक सय नौ वटै कलेजमा खोल्ने, नभए कुनैमा पनि नखोल्ने पक्षमा हुनुहुन्छ ।’ २०७५ मा जारी राष्ट्रिय चिकित्सा शिक्षा ऐनले नर्सिङ पठनपाठन गराउन सय बेडको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्था गरेपछि सीटीईभीटीका अधिकांश नर्सिङ शिक्षणसंस्था ‘अयोग्य’ भएका छन् । उपाध्यक्ष अधिकारी सञ्चालक रहेको विनायक कलेजको पनि आफ्नै अस्पताल छैन । अधिकारीले सय बेडको अस्पताल हुनुपर्ने चिकित्सा शिक्षा ऐनको प्रावधान नै गलत रहेकाले संशोधन हुनुपर्ने जिकिर गर्दै आएका छन् । एक सय नौमध्ये २४ वटा कलेजले मात्र ऐनको मापदण्डअनुसार भर्ना खुलाउन सक्छन् ।

विनायक कलेजले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालसँग सम्झौता गरेर नर्सिङको पठनपाठन गर्दै आएको छ । ‘चिकित्सा ऐनले सीटीईभीटीका कलेजहरू अप्ठ्यारोमा परे, तत्काललाई सय बेड अस्पताल भएका कलेजमा मात्र भर्ना खुलाउन पहल गरिएको छ,’ सीटीईभीटीका एक सहसचिवले भने, ‘तर उपाध्यक्ष मान्नुभएको छैन । खुले सबै कलेजमा भर्ना खुल्छ, नभए सरकारले उपाध्यक्षबाट हटाए पनि हटाओस् भन्ने अडानमा हुनुहुन्छ ।’ अधिकारीले भने भर्ना खोल्ने तयारी भइरहेको प्रतिक्रिया हिमालयन टाईकुनलाई जानकारी दिए ।सीटीईभीटीका पदाधिकारीले १/२ दिनमै नर्सिङको भर्ना खुल्छ भनेको दुई महिनाभन्दा बढी भइसकेको छ । सीटीईभीटीका कारण शैक्षिक सत्र नै गुम्ने जोखिम बढ्दै गएको कलेजका प्रिन्सिपलहरू बताउँछन् । भर्नाको सूचना प्रकाशित भएपछि प्रवेश परीक्षा सञ्चालन गरेर पठनपाठन थाल्न कम्तीमा डेढ महिना लाग्छ । ‘शिक्षामन्त्रीले मापदण्ड पुगेकामा मात्र भर्ना खोल्न निर्देशन दिएपछि बाहिर भर्ना खुल्छ/खुल्छ भनिएको हो,’ ती कर्मचारीले भने, ‘भित्रभित्र भर्ना रोकेर मापदण्ड नपुगेका कलेजमा पनि पठनपाठन गराउन चलखेल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर