काठमाडौं/सिन्धुलीको गोलन्जोर गाँउपालिका– ४ निवासी १७ बर्षिय डोर बहादुर खपाङ्गी विश्वकै होचोमध्येका एकजना होचो व्यक्ति भएको दावी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीकाअनुसार खपाङ्गीलाई नागरिकता प्रमाणपत्र दिनेक्रममा उचाई ७१ सेन्टिमिटर र तौल १३ केजी पाइएको छ । खपाङ्गीलाई उक्त कार्यालयले बुधबार बंशजको नागरिकता प्रदान गरेको छ । उहाँको नागरिकता प्रमाणपत्रमा जन्ममिति २०६१ कात्तिक २९ गते उल्लेख छ ।
दाजुको सनाखत, वडा अध्यक्षको सिफारिस र उमेर खुलाइएको मेडिकल रिपोर्टका आधारमा खपाङ्गीलाई नागरिकता प्रमाणपत्र जारी गरिएको कार्यालयले जनाएको छ । कार्यालयको नागरिकता फाँटका नायबसुब्बा रबिन्द्र गौतमले भन्नुभयो, ‘पाँच दिनअघि दाजु नरबहादुर खपाङ्गीले डोर बहादुरलाई बोकेर नागरिकता बनाउन ल्याउनुभएको थियो । हामीलाई शङका लागेर उमेर एकिन गरी पठाई दिनु भनी स्वास्थ्य परिक्षण गर्न सिन्धुली अस्पतालमा पठायौं ।’
अस्पतालले दाँत, हड्डी र जनरल फिजिसियन बिषय विज्ञबाट तीन दिन लगाएर स्वास्थ्य परिक्षण गरी उमेर १५ देखि १७ बर्षको बीचको, उचाई ७१ सेन्टिमिटर र तौल १३ केजी भएको प्रतिवेदन दिएपछि खपाङ्गी अहिले विश्वकै होचो व्यक्तिको सूचीमा पर्न सक्ने अनुमान लगाइएको उहाँको भनाई छ । नायब सुब्बा गौतमकाअनुसार विश्वकै जीवित होचो व्यक्तिको रुपमा अहिले कोलम्बियाका एडवार्ड निनो हेर्नन्डोजको रेकर्ड छ । उहाँको उचाई ७० दशमलब १ सेन्टिमिटर रहेको छ ।
विकिपिडियाअनुसार जीवित होचामध्ये टाइवानको लिन यू चिनको ६७ दशमलव ५ सेन्टिमिटर उचाई देखाइएको छ । सोअनुसार सिन्धुलीका खपाङ्गी होचोमा तेस्रो स्थानमा पर्ने जीवित पुरुष हुनुभएको छ । गिनिज बुकका लागि सूचना सङकलन गर्ने काम गर्दै आउनुभएका कन्सल्ट्यान्ट थानेश्वर गुरागाई पनि सिन्धुलीका खपाङी विश्वकै होचो व्यक्तिमध्ये पर्ने बताउनुभयो । डोर बहादुरको उचाई कसरी नपिएको हो सुताएर हो की उभ्याएर’ उहाँले भन्नुभयो, ‘यस बिषयमा थप बुभ्नुपर्ने हुन्छ । उचाई महत्वपूर्ण छ, त्यो पनि १८ बर्ष मुनीको ।’ यसअघि विश्वमा जीवित होचो व्यक्तिका रुपमा दाङका चन्द्रबहादुर डाङ्गीको उचाई २१ दशमलब ५ सेन्टिमिटर थियो । उनको निधन भइसकेको छ ।
स्वास्थ्य परिक्षणकाक्रममा डोरबहादुरको स्वास्थ्य अवस्था ठीक रहेको प्रतिवेदन चिकित्सकले दिएका छन् । दाजु नरबहादुर खपाङ्गीकाअनुसार अहिले डोर बहादुर गाँउकै प्रावि ढुङ्ग्रेमा कक्षा १ मा अध्ययनरत हुनुहुन्छ । सामान्य बोलचाल र हिड्डुल गर्ने सक्ने डोर बहादुर परिवारका चार दाजुभाइ र तीन दिदिबहिनीमध्ये सबैभन्दा कान्छा सन्तान भएको बताए । बुवा टक्कर बहादुर खपाङ्गी र आमा रणमाया खपाङ्गीको सन्तान हुन् ।