
२९ भदौ, मोरङ्/ १६ वर्षीया किशोरी मोरङको बुढीगंगा गाउँपालिकामा एक दिनको लागि अध्यक्ष बनेकी छन्। गाउँपालिका अध्यक्ष बालचन्द्र माझीका अनुसार राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा १६ वर्षीया सुस्मिता ऋषिदेवलाई एक दिनकोलागी गाउँपालिका अध्यक्ष बनाइएको बताए। आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका अध्यक्षको हैसियतले उनले सबै काम गर्न पाउने छिन्। केही एजेण्डाहरूमा उनले निर्णय समेत गरिसकेको अध्यक्ष माझीले बताए।



अध्यक्ष माझीका अनुसार बालबालीहरुको ज्ञान र उत्सुक्ताकोलागी बैठकहरू कसरी सञ्चालन हुन्छ। ‘स्थानीय, प्रदेश र संघीय सरकार कसरी काम गर्छ। यसको काम कर्तव्य के कस्तो र कसरी हुन्छ भन्ने कुराबारे बालबालिकाहरूलाई जानकारी गराउन एक दिनको लागि उहाँलाई राखिएको हो बताए ।उनका अनुसार गाउँपालिकामा बैठक बसेर ऋषिदेवलाई अध्यक्षमा चयन गरिएको हो। उनले ११ बजे कार्यभार सम्हालेकी हुन्।
बैठकले पहिले नै केही गाउँपालिकालाई बालमैत्री बनाउने, बालविवाह अन्त्य गर्नको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जस्ता एजेण्डाहरु तयार गरेको थियो। सोहिअनुसार बालबालिकाहरूले कार्यक्रमहरू सञ्चालन गर्न ५० हजार रूपैयाँको कोष समेत खडा गरिएको अध्यक्ष माझीले बताए। ‘आज एजेण्डाबारे उहाँले तीन निर्णय गर्नुभयो। विद्यालयहरू र स्वास्थ्य चौकीको निरीक्षण पनि गर्दै हुनुहुन्छ,’ उनले भने,’कार्यक्रमहरूले निरन्तरता पाउँनछ ।’