
सिन्धुली जिल्ला तीनपाटन गाँउपालिका वडा नं. ६ धापको डाँडाटोलमा भीमसेन भगवानले तरवारले काटेको द्धारे ढुङ्गा रहेको छ । सत्ययुगमा भीमसेनले ढुङ्गा काटेर हाम्फाल्दा करिब ३०० मिटर तल जंगलमा कुर्कुचाको डोबसमेत देख्न सकिन्छ । द्धारे ढुङ्गाको पूर्व दिशामा घ्याम्पाडाँडा, दक्षिणमा मुंग्रेडाँडा,पश्चिममा कोटगाँउ र उत्तरमा भोगटेनी गाँउ अवस्थित छ । ढुङ्गा आसपासमा केही वर्ष अघिसम्म बजार लाग्ने गरेको स्थानिय ६३ वर्षिय रित बहादुर थापा मगरले बताए ।
तरवारले ढुङ्गालाई चार टुक्रामा काट्दा बनेका दुई ठूला टुक्रामा १.५ मिटर लामो तरवारको डाम स्पष्ट देखिन्छ भने दुई साना चोईटामा पनि साना निशाना छाप देखिन्छ । करिब १५ फिट उचाई र १९ फिट लम्बाई रहेको द्धारे ढुङ्गामा सानो छदा बाघचाल खेल खेलेको कुरा अर्का स्थानिय ४७ वर्षिय कुल बहादुर थापा मगरले स्मरण गरे । डाँडाटोलको भञ्ज्याङ्मा ढुङ्गा रहेकोले सबै गाँउले शितल हावाको अनुभव गर्न एक चोटी ढुङ्गामा पुग्ने गरेको मगरले जानकारी दिए ।
पर्यटकिय आर्कषणको केन्द्रबिन्दु बन्ने सम्भावना रहेको भएतापनि स्थानिय नेतृत्वको अभाव र जनताको बेवास्ताका कारण ढुङ्गाबारे जिल्ला बाहिर कसैलाई थाहा छैन् । राजनीतिक खिचातानीले सडक यातायत र अन्य विकासका पूर्वधारहरुको राम्रोसँग विकास नभएकोले ढुङ्गाको प्रचारप्रसार हुन सकेको छैन् । गाउँमा अधिकांश मगर समुदायको बसोबास रहेको यस क्षेत्रमा सबैले हिन्दु धर्म मान्ने गरेका छन् । सबै कृषक रहेका यस गाँउमा नगन्य मात्रामा सरकारी कर्मचारी,नेपाली सेना,नेपाल प्रहरी र शिक्षक सेवामा कार्यरत छन । किरात राई लिम्बु समुदायले झोडा फडानी गरी बस्ती बसाई सकेपछि कालान्तरमा उनीहरु त्यहाँबाट अन्य सुविधा सम्पन्न ठाँउतर्फ गएको स्थानियको ठम्याई छ । धाप गाँउको छिमेकी गाँउ अवल, डकाहा ,दुधौली नगरपालिका र उदयपुर जिल्लाको कटारी नगरपालिकामा भने किरात राईको बाक्लो बस्ती रहेको छ ।
किराती कालपछि पश्चिम नेपालको पाल्पा जिल्लाबाट आई धाप क्षेत्रमा आले, पूर्वछान,े राना र थापा थरको बस्ती बढेको स्थानियको बुझाई छ । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीबाट करिब ५० किलोमिटर पूर्वी दिशामा रहेको यस गाँउ पुग्न साना पिक्अप गाडी र दुई पाङग्रे सवारी साधनमा ३ घण्टा लाग्छ । सिचाई अभावले जीवन निवार्हमूखि उत्पादन र बजार अभावका कारण यस क्षेत्रको ठूला बजार भनेको सिन्धुली र चकमके बजार हो । जहाँ त्यहाँको स्थानिय उत्पादन केरा, धान, तोरी र दाल बेचबिखान गरिन्छ । शिक्षाको अभावले गर्दा गाँउका प्रत्येक घरका एक जना वैदेशिक रोजगारीमा जाने प्रचलन रहेको छ ।
गाँउको पूर्वी दिशामा अवस्थित घ्याम्पा डाँडामा तामाखानी र श्री धापकाली देवीको मन्दिर रहेको छ । यसै गरी गाँउ नजिकै रहेको मुंग्रेडाँडामा लडाई गर्न राणाशासकहरु बस्ने गरेको तर चुरे क्षेत्र भएकोले माटोको संरचना कम्जोर भएकोले छोडेको कुरा स्थानियले बताउने गरेका छन । केही वर्ष अघिसम्म राणाले प्रयोग गरेका ढुङ्गाको ढिँकी जाँतो त्यस क्षेत्रमा पाइन्थे । तामाखानीमा काम गर्ने सिलसिलामा २२ जना कामदारको मृत्यु भएको (भोग खाएकोले ) गाँउको नाम भोगटेनी रहेको जनविश्वास रहेको छ । मिश्रित समुदायको बसोबास रहेको कोटगाँउमा भने पाटन देवीको मन्दिर रहेको छ । देशकै ठूलो र नगर उन्मूख गाँउपालिकाको रुपमा चिनिने तीनपाटन गाँउपालिका अथाह सम्भावना र अवसरहरु भएतापनि विकास सूचाकाङ्कमा पछि परेको छ । कच्ची सडक र पहाडी इलाका भएकोले तिव्र गतिमा विकासका गतिविधीहरु हुन सकेका छैन् ।
उत्पादनशिल गाँउको परिचय बनाएको धाप गाँउ तीनपाटन गाँउपालिकाको एउटा बेशी क्षेत्रको रुपमा पाउन सकिन्छ । तीनपाटन गाँउपालिकाको पश्चिममा कमलामाई नगरपालिका, उत्तरमा फिक्कल र गोलान्जोर गाँउपालिका, पूर्वमा दुधौली नगरपालिका र दक्षिणमा कमलामाई नगरपालिका र दुधौली नगरपालिकाले छोएको छ ।


