
काठमाडौं/ नेकपा माओवादीका केन्द्र भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अबको ६ देखि सात महिनाभित्रमा सुकुम्बासीहरूलाई धनीपूर्जा बाँड्न नसके भूमि आयोगबाट आफूले राजीनामा दिने दाबी गरेका छन्। नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँपालिकाले मोरङको कानेपोखरी-६ बिहीबारे बजारमा आयोजना गरेको ‘भूमि समस्या तथा समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सुकुमबासीहरूलाई धनीपूर्जा वितरण गर्ने ग्यारेन्टी नभएको खण्डमा राजीनामा दिने बताए। अबको ६ देखि ७ महिनाभित्रमा तपाईंहरूलाई धनीपूर्जा वितरण गर्ने ग्यारेन्टी लिएको छु उनले भने यस अवधिमा धनीपूर्जा वितरण भएन भने भूमि आयोगको गाडीमा यसरी घुम्ने छैन।
३६ महिनामा सरकारमा रहँदा पनि केपी ओली नेतृत्वको पार्टीले धनिपूर्जा दिन आलटाल गरेको उनको दाबी थियो। यसअघि २२ पटकसम्म भूमि आयोग गठन भयो। तर काम भएन। किसान र भूमिको विषय बुझेका मान्छे थिएनन्। त्यो मात्र होइन ओलीले सुकुम्बासीलाई धनीपूर्जा वितरण गर्ने इच्छाशक्ति पनि देखाएका थिएनन् उनले भने प्रचण्डले मलाई सुकुम्बासीलाई धनीपूर्जा वितरण नगरे मुखै हेर्दिन भन्नुभएको छ।



कार्यक्रममा नेकपा माओवादी केन्द्र मोरङका संयोजक गणेश उप्रेतीले अहिलेको गठबन्धनको सरकारले सुकुम्बासीहरूको धनीपूर्जा वितरण गर्ने बताए। नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँपालिकाले भूमि आयोगलाई सुकुम्बासीहरूलाई धनीपूर्जा वितरण तत्काल गर्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ। कानेपोखरी गाउँपालिकाभित्र ४० वर्षदेखि बसोबास गर्दै आएका सुकुमबासी रहेका छन्। तीन पुस्ता बितिसक्दा पनि हालसम्म लालपूर्जा नपाएको गुनासो उनीहरूले गरेका छन्।