
एमाले नेता महेश बस्नेतले कालोधनलाई सेतो बनाउने अभियानको नेतृत्वकर्ता बनेर पुष्पकमल दाहाल प्रचण्ड अघि बढेको बताउनु भएको छ । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको थाहा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका बस्नेतले यस्तो ठोकुवा गर्नुभएको हो । ठूला भ्रष्टाचारी र तस्करले कमाएको कालो धनलाई सेतो बनाउने मार्गदर्शन बोकेर पूर्वमाओवादी नेता एक हुन लागेको र त्यसको नेतृत्व प्रचण्डले गरिरहनु भएको छ, बस्नेतले भन्नुभयो । उहाँले अहिलेको सरकार भ्रष्टाचार गरी अकुत सम्पति आर्जनको अभियानमा लागेको पनि उहाँको भनाई थियो ।
‘सरकारले १० करोडसम्मको योजना उपभोक्ता समिति मार्फत गर्न पाउने गरी कार्यक्रम ल्याएको छ, यो काम माओवादी र कांग्रेसका कार्यकर्तालाई समितिमा राखेर भ्रष्टाचार गर्नकै लागि हो,’ बस्नेतले भन्नुभयो । सम्बोधनको क्रममा नेता बस्नेतले कांग्रेस र माओवादीलाई भोट हाल्नेलाई पाप लाग्ने आफ्नो निश्कर्ष पनि सुनाउनु भयो । केपी ओलीले ल्याएको श्रमजिवी नागरिक केन्द्रित बजेटलाई कटाएर तस्करलाई लाभ हुने गरी बजेट ल्याउने कांग्रेस, माओवादी र समाजवादीलाई भोट हाल्नेलाई पाप लाग्ने बस्नेतले बताउनुभयो ।



बस्नेतले अहिलेको सरकारमा मन्त्री बन्न चाहनेहरु भविष्य नभएका ब्यक्ति भएको बस्नेतले ठोकुवासमेत गर्नुभयो । उमेर गएका, जनमत गुमाएका र वदनाम भएका व्यक्ति मन्त्री बन्ने र राज्यकोष दोहन गर्ने षडयन्त्रमा लागेका उहाँको भनाई छ । राज्यको सम्पत्ति दोहन गरेर एमाले सिध्याने षडयन्त्रमा नलाग्न पनि उहाँले आग्रह गर्नुभयो । एमालेले त्याग तपस्या र वलिदान सबै कुरा गर्न जानेको उहाँले प्रष्ट पार्नुभयो । पूर्वमन्त्री बस्नेतले काम नलाग्ने अहिलेको प्रतिनिधि सभालाई जतिसक्दो चाँडो विगठन गरेर एमाले निर्वाचनमा जान चाहेको बताउनुभयो । ‘फेरी आउने महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष र आम निर्वाचनमा प्रधानमन्त्री बनाएर सेनापति बनाइ अघि बढाउँछौँ’, बस्नेतले भन्नुभयो ।