
१२ असोज, काठमाडौं । राष्ट्रिय जनगणनामा गणकको नाम सर्टलिस्टको नतिजा प्रकाशन भएको छ । केन्द्रिय तथ्यांक विभागका अनुसार कुल आवश्यक पर्ने गणकको तुलनामा ३० प्रतिशत बढीको नाम समेटेर सर्टलिस्ट सार्वजनिक गरिएको हो ।
देशभरमा जनगणनाका लागि ३९ हजार गणक खटिने छन् । विभागका अनुसार देशभरबाट १ लाख ५० हजार जनाले आवेदन दिएका थिए । सोही अनुसार गर्दा स्थानीय व्यक्तिलाई प्राथमिकता दिइएर सर्टलिस्ट गरिएको छ ।



गणकले आफ्नो नाम परेको नतिजा विभागको वेवसाइटमा गई दरखास्त फारममा रहेको मोबाइल नम्बर वा एनपीएचसी नम्बर राखेर हेर्न सक्नेछन् । सर्ट लिस्टमा आवदेकले रोजेको ठाउँको सम्भाव्यता, विगतमा गरेको कामको अनुभव, शैक्षिक योग्यताको श्रेणीलाई समेत आधार मानिएको बताइएको छ । नाम निस्किएका गणकले १४ असोजबाट खोप अभियानमा सहभागी हुनुपर्नेछ । उनीहरुले आफ्नो पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन सक्नेछन् ।
सर्टलिस्ट गणककोलागी तालिम भने कात्तिक १३ देखि १६ गतेसम्म स्थानीय जनगणना कार्यालयमा सञ्चालन हुनेछ ।कात्तिक २५ गतेबाट नेपालभर जनगणनाको काम सुरु भइ मंसिर ९ सम्म गरिनेछ । गणना अवधीमा हरेक घरमा गई गणकले ८० वटा प्रश्नको उत्तर भर्नेछन् ।